काठमाडौं- संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईँमा जाने नेपाली कांग्रेसले निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले विघटनविरुद्ध कानुनी लडाईंमा जाने निर्णय गरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार शुक्रबार मध्यरातमा राष्ट्रपतिबाट भएको कदमको विरोध गरिएको छ । यो निर्णयविरुद्ध कानूनी र राजनीतिक लडाईँमा जाने निर्णय गरेका छौँ ।
उनले सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद नै भंग गर्नु असंवैधानिक रहेको ठहर कांग्रेसले गरेको बताए ।
कानूनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पार्टीमा भएको र थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार मध्यराति प्रधानमन्त्रीको सिफारिसमा संसद भंग गरि आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनाव घोषणा गरेकी छिन् ।