काठमाडौं- निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार भएको छलफलमा व्यवस्थापन सहजताका लागि एकै चरणमा निर्वाचन गर्न सुझाइएको हो ।
निर्वाचन मिति घोषणालगत्तै प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूलाई बोलाएर छलफल गरेका हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी नपुगेको निर्णय गरेपछि शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचनको घोषणा गर्न सिफारिस गरेको थियो ।
राष्ट्रपतिले पनि सरकारको सिफारिसअनुसार नै प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले निर्वाचन मिति तोकेपछि त्यसलाई सम्पन्न गर्नु आयोगको संवैधानिक दायित्व भएकाले तयारीका लागि पर्याप्त समय रहेको स्पष्ट पारे ।
‘निर्वाचन घोषणा भएको छ, तोकिएकै समयमा सम्पन्न गर्नेगरी तयारी अघि बढाउनुस्, के-के आवश्यक पर्छ, भोलिदेखि नै काम थाल्नुस् भनी प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभयो,’ थपलियाले भने, ‘सरकारले निर्वाचनको मिति घोषणा गरेपछि त्यसलाई सम्पन्न गर्नु आयोगको संवैधानिक दायित्व पनि हो । आयोगसँग पर्याप्त समय पनि छ । हामीले व्यवस्थापनमा सहज हुने भएकाले एकै चरणमा निर्वाचन गरौं भनेका छौं ।’