प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा दायर गर्नु आवश्यक छैनः प्रधानमन्त्री-Sutra News

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा दायर गर्नु आवश्यक छैनः प्रधानमन्त्री

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायरको तयारी गरिरहेकोमा व्यङ्ग्य गरेका छन् ।



आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरु मोर्चा कसेर मुद्दा दायरको तयारीमा जुटेको भन्दै व्यङ्ग्य गरेका हुन् । उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ! सच्चाइका लागि एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरै जनाले मोर्चा कसेर बल पुर्याएर मुद्दा हाले पनि त्यही हो ।’

उनले युद्धको मैदानमा मोर्चा कस्नुको अर्थ हुने भए पनि न्यायका लागि मोर्चा कस्न आवश्यक नरहेको बताए । एकजनाले नै मुद्दा हाले पनि न्याय पाउने ठाउँ रहेमा न्यायालयले उसलाई न्याय दिने उनको भनाइ थियो ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा दायर हुने अवस्था नै नरहेको टिप्पणीसमेत गरे । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बन्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनको अर्को कुनै विकल्प संविधानमा नरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट