आरोहण अनुकूल मौसम भएपछि एकैदिन १५० जना सगरमाथामा-Sutra News

आरोहण अनुकूल मौसम भएपछि एकैदिन १५० जना सगरमाथामा

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

काठमाडाैं- वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् ।



आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत श्रेष्ठले अहिलेसम्म १५० भन्दा बढीले आरोहण गरेको खबर आएको बताए ।

‘मौसम राम्रो भएकाले उल्लेख्य सङ्ख्याका आरोही चुचुरातर्फ गएका थिए, १५० भन्दा बढीले आरोहण गरिसकेको खबर आएको छ, अझै केही आरोहण जारी छ’, उनले भने । मौसमले साथ दिए आगामी २८ र २९ तारिख सर्वाधिक आरोहण हुने जनाइएको छ ।

अहिले विश्व कीर्तिमानी कामीरिता शेर्पा २६औँ पटकको आरोहणका लागि आधार शिविरमा हुन् । अझै पनि बाक्लो सङ्ख्यामा आरोही सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका सम्पर्क अधिकृत श्रेष्ठले बताए । 

यसअघि प्रतिकूल मौसमका कारण एक साता सगरमाथा आरोहण प्रभावित बनेको थियो । वसन्तयामको जारी आरोहणका क्रममा पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकेका कारण नेपालको मौसम बिग्रिएपछि सगरमाथासहितका हिमाल आरोहण प्रभावित बनेको थियो ।

वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि सुरु भयो । कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सिङ) सँगै सगरमाथाको व्यावसायिक आरोहण सुरु भएको थियो ।

पर्यटन विभागले सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति दिएको छ । यो सङ्ख्या सन् २०१९ को वसन्तयामको भन्दा बढी हो ।

वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट