काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।
दुई वर्षभन्दा पहिलेदेखि नागरिकतासम्बन्धी विधेयक संसदमा छलफलको क्रममा रहेपनि सरकारले संसद भंग गरेपछि अध्यादेश ल्याएको हो ।
अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् । नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने या नदिनेबारे तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा० मा विवाद थियो ।
सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो ।