कोरोना महामारीबीच स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनै सक्दैनः राप्रपा-Sutra News

कोरोना महामारीबीच स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनै सक्दैनः राप्रपा

आइतबार, ९ जेष्ठ २०७८

आइतबार, ९ जेष्ठ २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनै नसक्ने बताएको छ ।



‘कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ, यस्तो डरलाग्दो महामारीबीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको छ,’ राप्रपाले भनेको छ, ‘कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निषपक्ष चुनाव हुन सक्दैन ।’

राप्रपा नेता मोहन श्रेष्ठकाअनुसार आइतबार बसेको राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले सो निष्कर्ष निकालेको हो ।

‘तसर्थ राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न, आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न तथा चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न राप्रपा सरकारसंग माग गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ ।

सत्तारुढ दलको आन्तरिक विवाद, प्रमुख विपक्षी दलको अकर्मण्यता तथा बारम्वार भइरहेको संविधानको अवहेलनाको परिणाम स्वरूप फेरि दोस्रोपटक प्रतिनिधि सभा विघटन हुन पुगेको राप्रपाको ठहर छ ।

राप्रपाले विगत केही वर्षयताका घटनाक्रमहरूका कारण वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि नै बारम्वार गम्भीर प्रश्नचिन्ह खडा भएको जनाएको छ ।

‘अहिले देशमा जुन परिस्थितिको विकास भएको छ, त्यसको मूलजरो कथित बाह्र बुँदे सहमति, सो समझदारीको जगमा खडा गर्न खोजिएको राजनीतिक प्रणाली, हिन्दुराष्ट्र र राजसंस्थालाई षडयन्त्रपूर्वक हटाउने कार्य तथा सो परिवर्तनका संवाहकहरूको सत्तालिप्सा र आमजनता प्रतिको उपेक्षा हो,’ सो पार्टीको दाबी छ ।

नेपाली जनताको अभिमत र शक्तिबाट ती कमजोरी र विकृतिको समाधान खोज्न सकिन्छ भन्ने विश्वासको कारण राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट