काठमाडौं- पेरिस लिलेले आइतबार एन्गर्सलाई २-१ ले हराएर फ्रान्सेली लिग वानको उपाधि जितेको छ । लिले दोस्रो स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) भन्दा एक अंकले अगाडि रह्यो ।
क्लब इतिहासमा उसले लिग उपाधि जितेको यो चौथोपल्ट हो । लिलेले लिगको अन्तिम दिन प्राप्त जितमा जोनाथन डेविड र बुराक यिलमाजले गोल गरे ।
अर्को खेलमा पीएसजीले ब्रेस्टलाई २-० ले हरायो तर त्यो लिलेलाई उछिन्न पर्याप्त रहेन । पछिल्लो नौ वर्षमा पीएसजी लिग उपाधिबाट विमुख रहेको यो दोस्रो पल्ट हो ।
लेन्सविरुद्धको खेलमा गोलरहित बराबरी खेलेको मोनाको तेस्रो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने तेस्रो टिम बन्यो ।
यस्तै लियोनले अर्को सिजन युरोपा लिग खेल्नेछ । मार्से र रेनेस भने युरोपा कन्फ्रेन्स लिगबाट छनोट भएका छन् ।