प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा हाल्न सर्वोच्च जाँदै ५ दल -Sutra News

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा हाल्न सर्वोच्च जाँदै ५ दल 

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेससहित ५ दलले आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन् ।



नेकपा माओवादी केन्द्रका एक नेताकाअनुसार प्रतिनिधिसभा भंगविरुद्ध रिट दर्ता गर्न अदालत जाने तयारी भइरहेको छ । ‘यति बजे नै अदालत जाने भन्ने त छैन,’ सोमबार ती नेताले भने, ‘आज कुनै समय अदालतमा मुद्दा दर्ता गर्छौं ।’

आइतबार अदालत जाने तयारी गरेका ५ दलले आफ्ना पक्षका १ सय ४९ जना सांसदको नागरिकतासमेत लिएर जाने निर्णय गरेकाले त्यो संकलन गर्न समय लागेपछि मुद्दा हाल्ने समय आजका लागि सारिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार यही जेठ ७ गते १ सय ४९ सांसदको हस्ताक्षर लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कार्यालय पुगेर प्रधानमन्त्री पदको दाबी पेस गरेका थिए ।

तर राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै उनको निवदेन खारेज गरेर प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी ५ दलले कानुनी लडाइँ सुरु गरेका हुन् । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टी एमालेको माधव नेपाल पक्ष पनि सहभागी छ ।

आज दर्ता गर्न लागिएको रिटमा प्रतिनिधिसभा पुनःस्थापनासँगै कांग्रेस सभापति देउवाले गरेको दाबी सदर गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न पनि माग गरिने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने घोषणा गर्दै संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका थिए । तर पछि उनी आफैं पनि १५३ सांसद आफन पक्षमा रहेको भन्दै प्रधानमन्त्री पदको दाबी गर्न राष्ट्रपति कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट