काठमाडौं- सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहुँदा सोही स्थानमा छाडिएको थियो ।
वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए ।
अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ । राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमार्फत १४ जनाको समूहमा सगरमाथा आरोहणमा गएका थिए ।