ओलीले नेपालसहित ११ जना सांसदलाई पार्टीबाट निकाले, थप १२ जनालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने-Sutra News

ओलीले नेपालसहित ११ जना सांसदलाई पार्टीबाट निकाले, थप १२ जनालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौ- पार्टीलाई घात गरेको आरोपसहित नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका छन् । 



उनले सोमबार बालुवाटारमा आफू पक्षीय स्थायी कमिटी बैठकमार्फत पछिल्लोपटक आफ्नो स्पष्टीकरणको जवाफ नदिएका सांसदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका हुन् ।

पार्टीमा ह्वीप उल्लंघन, विपक्षीसँग मिलेर चुनावमा आफ्ना नेतालाई पराजित र विपक्षीकै नेतृत्वमा सरकार बनाउने कोसिस गरेको आरोप ओलीले लगाएका छन् ।

नेपाल पक्षका २६ जना सांसदले शुक्रबार विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गर्दै नयाँ सरकार निर्माणको दाबीमा हस्ताक्षर गरेका थिए ।

ती मध्ये ११ जना सांसदलाई मात्रै ओलीले स्पष्टीकरण सोधेका थिए । तर उनीहरुले ओलीलाई स्पष्टीकरणको जवाफ दिएनन् । दलामा उनीहरुले कारवाही भोग्न तयार भएको घोषणा गरेका थिए ।

सोमबार ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्ने, देउवालाई प्रधानमन्त्रीमा शपथ खुवाउनु पर्ने र संसद अधिवेशन बोलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा दिइएको रिटमा विपक्षी कांग्रेस, माओवादी, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चाका गरी १४६ जना सांसदले हस्ताक्षर गरेकोमा त्यहाँ नेपाल पक्षबाट २३ जना सांसद सामेल भएका थिए ।

तर अन्तिममा नेपाल पक्षका सांसदहरु गोकर्ण विष्ट, योगेश भट्टराई, पवित्रा निरौला र गणेश पहाडी हस्ताक्षरबाट पछि हटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट