काठमाडौं- गोली प्रहारबाट पाचँ दिनअघि गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।
पाण्डेलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । अस्पताल ल्याइएको एक घण्टामै सोमबार राति उनको निधन भएको हो ।
गत बुधबार राति तीन जनाको समूहले पाण्डे र एक भारतीय नागरिकमाथि गोली प्रहार गरेका थिए ।
पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो ।
पाखुरामा एउटा गोली लागेका अर्का भारतीय नागरिकको अवस्था भने सामान्य रहेकाले उपचारपछि घर फर्केका छन् ।
गोली हानेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका वडा १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका-२ का ३३ वर्षीय साकिर अली गरि २ जनालाई पक्राउ समेत गरिसकेको छ ।
उनीहरूले व्यक्तिगत रिसिइबीका कारण पाण्डेमाथि गोली चलाएको बयान दिएको छन् ।