काठमाडौं । विपक्षी गठबन्धनका १४६ सांसदहरुले परमादेश लगायतका विभिन्न आदेश माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई नहुने भएको छ ।
रिट निवेदनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश मागिएको छ भने अन्तरिम आदेशद्वारा निर्वाचन बदर र एमालेलगायत जसपाका सांसदलाई कारवाहीबाट जोगाउन समेत माग गरिएको छ ।
सर्वोच्च अदालतमा आज दुईवटा इजलास तोकिएका छन् । आज तोकिएको इजलासमा सोमवार दायर भएका प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।
गत शुक्रवार मध्यरातमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा दोस्रोपटक भंग गरिदिएकी थिइन् । विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपतिनिवास लगिएको थियो ।
तर राष्ट्रपतिले देउवा र प्रधानमन्त्री ओली दुवैको दाबी नपुग्ने भन्दै खारेज गरेर प्रतिनिधि सभा विघटन गरिदिएकी थिइन् ।
विघटनविरुद्ध विपक्षी दलका नेताहरूले कानूनी र राजनीतिक दुवै लडाई लड्ने घोषणा गरिसकेका छन् । नागरिक समाजले पनि आन्दोलन शुरू गरिसकेको छ ।