संसद् विघटनविरुद्धको रिटमा पेसी तोकियो-Sutra News

संसद् विघटनविरुद्धको रिटमा पेसी तोकियो

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको १९ रिटको बिहीबार र ११ रिटको पेसी शुक्रबारका लागि तोकेको छ । सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा ११ वटा संवैधानिक इजलासका लागि र १९ साधारण इजलासमा रिट परेको छ ।



११ रिटको शुक्रबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । भोलि बिहीबार १९ रिटको एकल इजलासमा सुनुवाइ हुनेछ । सर्वोच्च एकल इजलासले व्याख्या गर्न आवश्यक देखेमा संवैधानिक इजलासमा पठाउन सक्नेछ ।

सर्वोच्चमा परेका रिटमध्ये संसद् पुनर्स्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २६ र राष्ट्रपतिको कदम सदर गर्नुपर्ने मागका चार निवेदन छन् ।

चार निवेदनमा ओलीलाई नै प्रधानमन्त्री तोकेर चुनाव जाने निर्णयलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ । केपी शर्मा ओलीलाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

अधिवक्ता राजाराम घिमिरेसहितका चार कानुन व्यवसायी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन् । उनीहरूले धारा ७६ (५) को प्रधानमन्त्रीमा दलीय प्रतिनिधित्वका आधारमा समर्थन गर्न सकिने भन्दै ओलीको दाबी वैधानिक भएको दाबी गरेका छन् ।

विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ निवर्तमान सांसदले दर्ता गरेको रिटमा प्रतिनिधिसभा सदस्यमध्येका देउवालाई नेपालको संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिद्वारा दुवैको दाबी नपुग्ने भनी प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेकोलाई असंवैधानिक र गैरकानुनी घोषित गर्न माग गरिएको छ ।

साथै, उत्प्रेषण आदेश माग गर्दै निवेदकले प्रतिनिधिसभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट