काठमाडौं- जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहित चार नेतालाई प्रष्टिकरण सोध्ने निर्णय कार्यान्वन नहुँदै ठाकुर पक्षले नै प्रष्टिकरण माग गरेको छ ।
आइतबार बसेको यादव पक्षीय केन्द्रीय कार्याकारिणी परिषद्को बैठकले ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ सुुक्ललाई प्रष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
तर मंगलबार ठाकुरले यादवसँग पार्टी निर्णय र हित विपरीत काम गरेको भन्दै सात बुँदे प्रष्टिकरण माग गरेका छन् । उनलाई तीन दिनभित्र जवाफ पेश गर्न भनिएको छ ।
पत्रमा उल्लेख गरिएको छ, ‘तपाईंको काम कारकाही र कृयाकलापहरु हाम्रो पार्टी, जनता समाजवादी पार्टी, नेपालको मुल्यमान्यता, निती तथा विधान विपरित भैरहेको हुँदा तपाईंलाई पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कार्वाही सम्बन्धी व्यवस्थानुसार यो स्पष्टिकरण सोधने कार्य भएको छ तल उल्लेखित विषयहरुमा आजको मिति देखी ३ दिन भित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन हुन अनुरोध छ ।’
यादवलाई एकता प्रक्रिया नटुंगिदै छुट्टै पार्टीको अभ्यास गरेको, पार्टी निर्णय विपरीत शेरबहादुर देउवाको पक्षमा उभिएको आरोप लगाइएको छ ।
ठाकुर र यादव एकअर्काको हकर्तले पार्टीको विभाजनलाई झन प्रगाढ बनाएको छ । ठाकुर पक्ष नेताहरू पार्टी फुटाएर केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन तम्तयार भएको यादवनिकट एक नेता बताउँछन् ।
ठाकुरलाई यादवले सोधेको प्रष्टिकरण
१. पार्टी एकता भए देखि नै समायोजनमा रुचि नलिई विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधीहरु किन संचालन गर्नु भयो ?
२. मेरो जनकारी वेगर अनअधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितीको तथाकथित बैठक बसि लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई किन निस्कासन गर्नु भयो ?
३. तपाईले मिति २०७८/०२/०७ गते पार्टीद्वारा जारी गरिएको सर्कुलर बमोजिम कोभिड १९ को महामारीको बढ्दो संक्रमणले २०७८/०२/०८ र ९ गते निर्धारण गरिएको बैठक स्थगित गरिएकोमा कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितीको बैठक बोलाई एकल अध्यक्षता गरि पार्टी हित विपरित निर्णहरु गर्नु भयो ?
४. पछिल्लो समयमा मैले रोक्दा रोक्दै अनअधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टीको केन्द्रीय कार्यकारिणी समितीको तथाकथित बैठकहरु बसि पार्टी हित विपरित विभिन्न खाले निर्णयहरु किन गर्नुभयो?
५.विगतका दिनहरुमा पार्टी र पार्टी सम्बद्ध मोर्चा तथा गठवन्धनद्वारा गरिएको संघर्ष र आन्दोलनको क्रममा आन्दोलनकारी साथीहरु माथि लगाईएका झुट्ठा मुद्दा फिर्ता, बन्दी रिहाई, उत्पीडित जातजाति र समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तीको निम्ती अपूर्ण रहेको संविधानमा संशोधन, नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्यहरु श्री लक्ष्मण लाल कर्ण र श्री सर्वेन्द्र नाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कार्वाहि प्रक्रिया अगाडी बढाउनु भयो ?
६. तपाईले मिति २०७८/०२/०६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधि सभा सदस्य श्री के। पी। शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यसको विपरीत विपक्षी गठवन्धनका उम्मेदवार श्री शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८/२ /०७ गते किन र कुन कारणले हस्ताक्षर गर्नु भयो ?
७. तपाईले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्नु भयो?