दुई हजार ५६५ औँ बुद्ध जयन्ती मनाइँदै-Sutra News

दुई हजार ५६५ औँ बुद्ध जयन्ती मनाइँदै

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौं- भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।    



प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

(अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो) यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने जनाइएको छ । 

गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले बुद्ध जयन्ती घर घर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।     
     
लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ । 

बौद्ध क्षेत्रका सङ्घ संस्थाको बैठकले बौद्ध चैत्यमा पूजापाठमात्र गर्ने निर्णय गरेको काठमाडौं महानगरपालिका वडा नं.–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले  जानकारी दिए । बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध घ्याङ गुठीलगायत संस्थाले सीमित व्यक्तिकाबीच पूजा आराधना गर्ने कार्यक्रम तय भएको छ । 

समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामा भक्तजनलाई घरमै बसेर बुद्ध जयन्तीको पूजा, पाठ, ध्यान, दीपावली गर्न आह्वान गरिएको बताउनुहुन्छ । सामान्य अवस्थामा हजारौँको मानिसको सहभागितमा शोभायात्रासहित बुद्ध जयन्ती पर्व मनाइन्थ्यो ।     
     
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।  राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने  । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।      
     
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे ।  बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए । 

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन ९धर्मदेशना० का माध्यमबाट ब्ाँडेका थिए ।  ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उन्ले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे । 

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट