काठमाडौं- प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।
बाली लगाउनुअघि गाउँ-गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दूमी राईले जानकारी दिए ।
गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उनले बताए ।
यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । यस वर्ष एक महिना अघिदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधिमात्र पूरा गर्ने तयारी गरिएको छ ।
राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।
किराँत समुदायमा पनि एकथरीले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् ।
यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् ।