कोरोना संक्रमण बढेको भन्दै काभ्रे १० दिन सिल, बनेपा र पनौती थप पाँच दिन-Sutra News

कोरोना संक्रमण बढेको भन्दै काभ्रे १० दिन सिल, बनेपा र पनौती थप पाँच दिन

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् ।



दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जनाएको हो । “औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ”, नगरप्रमुख टोकबहादुर तामाङले भने । नगरमा हाल ११८ पुरुषसहित १६९ सङ्क्रिय सङ्क्रमित रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि आजदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख शहर हो । जेठ ८ गतेबाट सिल गरेको पनौती नगरले पनि पहिलोपटक पाँच दिन सिलको समयावधि थपेको छ ।

सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै मण्डनदेउपुरसहित काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले हाल आफ्नो क्षेत्र सिल गरेका छन् । बनेपा, धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगर, मण्डनदेउपुर नगर, रोशी गाउँपालिका, बेथानचोक र भुम्लु गाउँपालिकाले आफ्ना क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् । 

पाँचखाल नगरले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाएको छ । साथै सिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लामा १० दिन निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा ४९९ सङ्क्रमणमुक्त भएका छन् ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ६४० सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा २२ प्रतिशत अर्थात् ५८१ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा ४७०, पनौतीमा ४६१, पाँचखालमा ३२५, नमोबुद्धमा १६९, मण्डनदेउपुरमा १६९ तथा रोशी गाउँपालिकामा ९७, चौँरीदेउरालीमा ६४, तेमालमा ५२, भुम्लुमा ८६, खानीखोलामा ३९, बेथानचोकमा ८५ र महाभारत गाउँपालिकामा ४२ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । कूल सङ्क्रमितमध्ये ९४ दशमलव ५८ प्रतिशत अर्थात् दुई हजार ४९७ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ११४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट