चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेपालका राजनीतिक दलका नेताहरूबीच आज अपराह्न जुम मिटिङ हुँदैछ ।
सीपीसीको अन्तर्राष्ट्रिय विभागले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग द्वीपक्षीय हित र सम्बन्धलगायत कोभिड १९ महामारीका बारेमा छलफल गर्न लागेको हो ।
जुम बैठकमा सीपीसीका विदेश विभाग मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ सहभागी हुनेछन् भने नेपालका प्रमुख राजनीतिक दलहरूका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम रहेको छ ।
चीनले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोगसमेत दिने भएको छ । आजको बैठकमा सहयोगबारे विस्तृत कुराकानी हुने बताइएको छ ।
बैठकमा चीनले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे चासोसमेत व्यक्त गर्न चाहेको अनुमान गरिएको छ ।
नेपालमा विकसित घटनाक्रममा चीन र भारतको नियमित चासो रहँदै आएको छ । प्रतिनिधि सभाको दोस्रो विघटनपछि विकसित राजनीतिक घटनाक्रमलाई भारतले ‘नोट’ गरेको भन्दै भारतीय विदेश मन्त्रालयबाट विज्ञप्ति आएको थियो ।