काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोरोनाको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ ।
बुधवार बिहान नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार संक्रमणको आडमा सत्ता बचाउने खेलमा लागेको निष्कर्ष निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
दुई दिनभित्र किनमेल गर भनेर सरकारले आतंक फैलाउने काम गरेको काँग्रेसको ठहर छ ।
दुई दिनभित्र किनमेल गर भनेर सरकारले जनतामा आतंक सिर्जना गरेको छ,’ सहमहामन्त्री डा. प्रकाशशरण महतले, ‘अस्पतालमा अक्सिजनको सुनिश्चितता, बेडको सुनिश्चितता र दुर्गममा पीसीआर परीक्षण गरेर कोरोना नियन्त्रणतर्फ ध्यान दिएको छैन । सरकारले संक्रमणको आडमा जनतालाई आतंक फैलाएर स्वार्थसिद्धि गर्ने काम गरेको छ ।’
त्यस्तै उनले सभापति देउवाले केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसअनुसार सरकार अगाडि नबढेको बताएका छन् ।
यस्तै आजको बैठकले जीविकोपार्जनमा समस्या भएकाहरूलाई राहत दिनको लागी पनि सरकारसंग माग गरेको छ ।
आजको पदाधिकारी बैठकले प्रतिनिधि सभा विघटन गर्ने सरकार र राष्ट्रपतिको कदमविरुद्ध कानूनी र राजनीतिक लडाईंलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।