काठमाडौं- इटालीको सिरी ए उपाधि जितेको तीन सातापछि इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले बुधबार क्लब छाडेका छन् ।
इन्टरले ११ वर्षको अन्तरमा लिग जितेको हो । यस क्रमा इटालीको घरेलु फुटबलमा युभेन्टसको लगातारको वर्चस्व तोडिएको थियो ।
इन्टरमा दुई वर्ष बिताएका उनले अनुबन्धको अन्तिम तथा तेस्रो वर्षमा प्रवेश गर्नुअगाडि नै पद छाडे । इन्टरमा आफ्नो बसाइ असाधारण रहेको पनि ५१ वर्षीय प्रशिक्षकले बताएका छन् ।
स्पेनी ला लिगा क्लब रियल म्याड्रिड जान सक्ने सम्भावनाबीच उनले इन्टर छाडेका हुन् । जिनेदिन जिदानको स्थानमा कोन्टेले रियल सम्हाल्ने सम्भावना छ ।
इन्टरले क्लब र प्रशिक्षकबीचको आपसी समझदारीमा कोन्टेले छाडेको जनाएको छ ।