काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेको रिटमाथि छलफल सुरु भएको छ ।
बहसको पहिलो दिन आज अधिवक्ता वीरभद्र जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दावी गर्दै पुनःस्थापनाको माग गरेका छन् ।
‘मध्यरातमा समय नदिइ विघटन भयो । राष्ट्रपतिले भनेको मार्ग प्रशस्त के हो,’ उनले भने, ‘ प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएँ भनेपनि स्पष्ट छैन । तसर्थ, पुनर्स्थापना होस् ।’
बहसकै क्रममा अर्का अधिवक्ता अजय बुढाथोकीले राष्ट्रपतिको संविधानको पालक र संरक्षक भएको भन्दै यहाँ अधिकार नभइ कर्तव्य पालना हुनुपर्ने बताए । उनले दुई वर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने कुरा उल्लेख गर्दै प्रधानमन्त्री छुट्याउने अधिकार राष्ट्रपतिले संसदलाई दिनुपर्ने तर्क गरे ।
सरकार र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर पेश गरिएका रिटमाथि आज सुनुवाइ हुँदैछ ।
सरकारको सिफारिसमा गत शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको दोस्रोपटक विघटन गरेकी थिइन् ।
आज सुनुवाइ हुने रिटमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनःस्थापना गर्न परमादेशको माग गरिएको छ ।