अदालतले अन्तरिम आदेश नदिएपछि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा लम्बिने संकेत-Sutra News

अदालतले अन्तरिम आदेश नदिएपछि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा लम्बिने संकेत

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

प्रतिनिधि सभाको दोस्रो विघटनविरुद्ध परेका १९ रिटहरूको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने फैसला गर्यो ।



रिटमा माग गरिएअनुसार अदालतले अन्तरिम आदेश नदिएपछि यो मुद्दा लामो समयसम्म चल्ने संकेत देखिएको छ ।

गत पुस ५ गते भएको विघटनविरुद्ध २ महिनाभन्दा बढी सुनुवाइ चलेको थियो । फागुन ११ गते अदालतले प्रतिनिधि सभा विघटन गैर-संवैधानिक रहेको भन्दै पुनःस्थापनाको आदेश दिएको थियो ।

बजेटअघि नै अन्तरिम आदेशमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गर्न माग गरिएका रिटहरूमाथिको सुनुवाइपछि प्रधानन्यायाधीश जबराले गम्भीर संवैधानिक व्याख्या चाहिने भएकाले संवैधानिक इजलास आवश्यक रहेको तर्क गरे ।

रिट दायर गर्ने पक्षले मुद्दालाई पूर्ण वृहत इजलासमा लैजान माग गरेको थियो । तर यसअघि झैं जबराले दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दालाई संवैधानिक इजलासमै सुनुवाइ गर्ने फैसला गरेका छन् ।

संवैधानिक इजलास प्रधानन्यायाधीशले नै गठन गर्नेछन् । उनले वरियताक्रममा माथि रहेका न्यायाधीशहरू राख्नेछन् या यसअघि जस्तै आफूअनुकूलका न्यायाधीश राख्नेछन् भन्ने प्रश्नसमेत उठेको छ ।

विघटित प्रतिनिधि सभाका १ सय ४६ सांसदहरूले भौतिक उपस्थिति नै देखाएर सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतलाई त्यसको दबाब पनि पर्नेछ ।

अघिल्लो विघटनसँगै यसपटक पनि इजलासमा संविधानको धारा ७६ र १०० को व्याख्या हुनेछ । धारा ७६ को विभिन्न उपधाराहरूमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्था रहेका छन् ।

यसअघि अदालतमा पक्ष र विपक्षमा सयौं वकिलहरूले बहस गरेका थिए । बहसका लागि अहिले त्यो भन्दा बढी संख्यामा वकिलहरूले नाम टिपाउने निश्चित रहेको अदालत स्रोतको दाबी छ ।

यसअघि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ कि पाउँदैन भन्ने बहस चलेको थियो । यसपालि धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त भएको अल्पमतको प्रधानमन्त्रीले विश्वासको मत नलिई संसद विघटन गर्न पाउने कि नपाउने भन्ने विषयमा बहस सोझिनेछ ।

आज भएको सुनुवाइमा रिट पक्षधर वकिलहरूले ‘मार्गप्रशस्त’ भनेको के हो भन्दै प्रश्न सोधेका थिए । ओलीले धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत नलिईकनै अर्को सरकार गठनका लागि मार्गप्रशस्त गरिदिएको भनेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिदिएकी थिइन् ।

प्रधानमन्त्रीले राजीनामा नदिँदै अर्को प्रधानमन्त्रीको खोजी गर्नु असंवैधानिक रहेको तर्क रिट पक्षधर वकिलहरूले गरेका छन् । बहसको पहिलो दिन आज  अधिवक्ता वीरभद्र जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दावी गर्दै पुनःस्थापनाको माग गरेका छन् ।

‘मध्यरातमा समय नदिइ विघटन भयो । राष्ट्रपतिले भनेको मार्ग प्रशस्त के हो,’ उनले भने, ‘ प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएँ भनेपनि स्पष्ट छैन । तसर्थ, पुनर्स्थापना होस् ।’

बहसकै क्रममा अर्का अधिवक्ता अजय बुढाथोकीले राष्ट्रपतिको संविधानको पालक र संरक्षक भएको भन्दै यहाँ अधिकार नभइ कर्तव्य पालना हुनुपर्ने बताए । उनले दुई वर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने कुरा उल्लेख गर्दै प्रधानमन्त्री  छुट्याउने अधिकार राष्ट्रपतिले संसदलाई दिनुपर्ने तर्कसमेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट