व्यापार अवरोध हटाउन अमेरिकी र चिनियाँ प्रतिनिधि बीच पाँच महीनापछि वार्ता-Sutra News

व्यापार अवरोध हटाउन अमेरिकी र चिनियाँ प्रतिनिधि बीच पाँच महीनापछि वार्ता

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरु बीच बिहीवार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ ।     
दुई देश बीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति नभए पनि वार्ता प्रक्रिया भने शुरु भएको छ । वार्तामा सहभागी दुबै पक्षले करका प्रावधानमा रहेका गतिरोध सुल्झाउने तर्फ कहिले वार्ता प्रक्रिया शुरु हुन्छ भन्ने कुनै सङ्केत दिएका छैनन् ।     
     
अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईले व्यापार सम्बन्धका बारेमा “आन्तरिक समीक्षा” अझै जारी रहेको बताएका छन् ।  चीनको वाणिज्य मन्त्रालयले चिनियाँ व्यापार प्रतिनिधि एवं उपप्रधानमन्त्री लिउ हे ले समान चासोका विविध विषय उठाएको बताएको छ, तर विस्तृत विवरण भने दिएको छैन ।     
     
राष्ट्रपति बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरुद्ध शुरु गरेको व्यापार द्वन्द्वका बारेमा के कस्तो रणनीति अपनाउने भन्ने बारेमा अझै केही बताएका छैनन् ।



ट्रम्पले चीनको औद्योगिक नीति र व्यापार असन्तुलन बढेको भन्दै चीनबाट आयात हुने सामानमा कर वृद्धि गरेका थिए । त्यसको प्रतिक्रियास्वरुप चीनले पनि अमेरिकी सोयाबिन खरीद स्थगन गर्नुका साथै अन्य सामानमा करवृद्धि गरेको थियो ।     
     
सन् २०२० को शुरुदेखि कोरोनाभाइरस महामारी फैलिनु अघि देखि नै मध्यस्थकर्ताहरु बीच प्रत्यक्ष भेटवार्ता भएका छैनन् । द्वन्द्व सामान्यीकरण गर्ने अभिप्रायले सन् २०१९ देखि दुबै देश बीच भएको पहिलो चरणको सम्झौता बमोजिम तल्लो तहका अधिकारीहरु बीच फोनबाटै कुराकानी हुने गरेको छ ।     
     
पहिलो चरणको सम्झौतामा एकअर्का मुलुकका सामानमा थप कर वृद्धि नगर्ने र कतिपय सामानमाथि लागेका करहरु हटाउने सहमति भएको थियो । चीनले अमेरिकी सोयाबिनको खरीद बढाउने र अन्य सामानको आयात बढाउने प्रतिबद्धता गरेको थियो ।     
     
कोरोना भाइरस महामारीका कारण विश्व व्यापारमा प्रभाव पारेसँगै चीनले अमेरिकी बस्तु तथा सेवाको खरीदमा ढिलाई गरेको छ । यसैबीच, चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनका उपप्रधानमन्त्री लिउ हे र अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाई बीच बिहीवार बिहान टेलिफोनमा वार्ता भएको हो । 
     
दुबै पक्ष बीच समानता र आपसी सम्मानको भावना अनुरुप खुला, व्यवहारिक र रचनात्मक रुपमा वार्ता भएको छ । साथै दुबै पक्षले वार्तामा आआफ्ना चासो र सरोकारका विषय उठाएको र आगामी दिनमा निकट सञ्चार सम्पर्क स्थापित गर्ने सहमति व्यक्त गरेका छन् ।     रासस/ एपी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट