सभामुख सापकोटाले भने – प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधारण कदम चाल्न पनि सक्छु-Sutra News

सभामुख सापकोटाले भने – प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधारण कदम चाल्न पनि सक्छु

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौँ  । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनका विषयमा सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद्सँग छलफल गरेका छन् ।



उनले बिहीवार अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा संविधानविद्, कानूनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग छलफल गरेका हुन्।

सापकोटाले प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधारण कदम चाल्ने चेतावनी दिएका छन्।

बैठकमा बोल्दै सभामुख सापकोटाले भने, ‘संविधान, लोकतन्त्र, जनताको अधिकारका लागि असाधरण कदम चाल्न पनि तयार छु। घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्यांकन गरेर अघि बढ्न सक्छु। केन्द्रमा देश र जनताको हित नै हुन्छ। संविधानको मर्म र भावना अनुसार काम गर्न तयार छु।’

संसद  विघटनप्रति वरिष्ठ अधिवक्ता शम्भु थापाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले किचेनमा बसेर हरहिसाब गरेर निर्लज्ज खेल खेलेको आरोप लगाएका छन् ।

आज सभामुख अग्नि सापकोटाले कानुनविदहरुसँग गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

“यो संविधान संविधानसभाले बनाएको हो,अर्को संविधान बन्ने प्रक्रिया छैन,’ उनले भनेका छन्, ‘संविधानसभाको संविधान कहिले पनि मर्दैन । यसलाई मार्न कसैले पनि सक्दैन।’

त्यस्तै अर्का संविधानविद तथा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले तत्कालै सभामुख अग्नि सापकोटाले संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्न सक्ने बताएका छन् । संविधानको धारा ९३, १०३, सर्वोच्चको फैसलाबमोजिम पनि संसद् कहिले मर्दैन भन्ने आधारमा सभामुखले नै संसद् बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने सुझाव दिएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट