जसले ७ सयभन्दा बढी पटक घुस लिए-Sutra News

जसले ७ सयभन्दा बढी पटक घुस लिए

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

जोहान्सबर्ग- दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७ सयभन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् ।



पूर्वराष्ट्रपति जुमाविरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको सुनुवाईका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी लिएको समेत सयौं काण्डमा मुछिएको बताएका छन् ।

दक्षिण अफ्रिकाको सन् २००९ देखि २०१८ सम्म राष्ट्रपति रहेका जुमाविरुद्ध भ्रष्टाचारका आरोपहरुका साथै ठगी, कर छली र सम्पत्ति शुद्धीकरण समेतका आरोप लागेका छन् ।

अदालतमा उनले आफूमाथि लागेका आरोप झुठा रहेको बताउँदै आफूविरुद्धका मुद्दाहरु राजनीतिक प्रेरित रहेको दाबी गरेका छन् ।

निलो पहिरनमा अदालतमा उपस्थित भएका ७९ वर्षीय जुमामाथि लागेका आरोपहरु प्रमाणित भए २५ वर्षसम्म जेल जानु पर्ने हुन्छ ।

जुलाई १९ सम्मका लागि मुद्दाको सुनुवाई स्थगित भएसँगै जुमाले आफ्ना समर्थकलाई अदालत बाहिर सम्बोधन गर्दै आफूले कसैसँग कहिल्यै केही नलिएको र कुनै गलत कार्य नगरेको बताए ।

जुमामाथि लागेका भ्रष्टाचारका आरोपहरु उनी राष्ट्रपति हुनुभन्दा अघिका हुन् । साथै यी आरोपहरु उनी सन् १९९९ देखि २००५ सम्म दक्षिण अफ्रिकाको उपराष्ट्रपति हुँदाको समयावधिका छन् ।

अभियोजकहरुका अनुसार जुमाले सन् १९९५ देखि २००५ को अवधिमा थेल्सबाट मात्र नभई विभिन्न स्रोतबाट घुस लिएका थिए । त्यस समयमा निकै लोकप्रिय उनी सत्तारुढ अफ्रिकन नेसनल कांग्रेस पार्टीको प्रान्तीय राजनीतिबाट उपराष्ट्रपति पदमा पुगेका थिए ।

थेल्सविरुद्ध पनि मुद्दा दायर भएका छन् तर कम्पनीले आफूले स्वच्छ व्यवसाय गरेको दाबी गरेको छ । जुमा र थेल्सविरुद्ध १८ वटा आरोप छन् ।

अभियोजकका अनुसार थेल्सबाट जुमाले वार्षिक करिब ४० हजार अमेरिकी डलर स्वीकारेका थिए । यसबापत जुमाले अफ्रिकी सरकारसँग हुने हतियारको बिक्रीसम्बन्धी विषयमा थेल्स माथि अनुसन्धान गर्नबाट रोक्न राजनीतिक संरक्षण दिएको अभियोजकको भनाई छ ।

तर सन् २००५ मा घुसखोरीको मुद्दा लागेपछि जुमालाई उपराष्ट्रपति पदबाट बर्खास्त पनि गरिएको थियो । तर चार वर्षपछि जुमाले पुनः दक्षिण अफ्रिकाको राष्ट्रपतिका रुपमा पुनरागमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट