अनलाइन टिभी पत्रकार संघले भन्यो- युट्युबमा गलत सूचना प्रसारण गर्नेहरूलाई तत्काल कारबाही गर-Sutra News

अनलाइन टिभी पत्रकार संघले भन्यो- युट्युबमा गलत सूचना प्रसारण गर्नेहरूलाई तत्काल कारबाही गर

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौं- अनलाइन टिभी पत्रकार संघले पत्रकारिताको मर्म विपरित युट्युब माध्यममा गलत प्रसारण गर्नेहरुलाई तत्काल कारबाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेको छ ।



संघको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उक्त माध्यममा विकृति गर्नेहरुलाई कारबाही गर्न माग गरेका हुन् । 

युट्युबलगायतका विभिन्न माध्यमबाट भिडियो सामग्री सम्प्रेषण गर्ने क्रममा अधिकांशले पत्रकारिताको मर्मविपरीत गलत गर्नेलाई कारबाही गर्न र राम्रो गर्नेलाई संरक्षण गर्न पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

अनलाइन, टिभीका क्षेत्रमा यसअघि पनि विकृति हुँदै आएकोमा पछिल्ला दिनमा ‘प्रयाङ्क’का नाममा थप विकृति देखिन थालेको भन्दै संघले काउन्सिलको ध्यानकर्षण गराएको हो । केही युट्युब च्यानलबाट अति उच्शृङ्खल, अशिष्ट, अपाच्य र सञ्चारमाध्यमको सामान्य सिद्धान्तविपरीतका सामग्री प्रसारण भइरहेको संघले जनाएको छ ।

संघले पत्रकारिताको दायरामा रहेका सञ्चारमाध्यमलाई पत्रकारितासम्बन्धी कानून र त्यसभन्दा बाहिरकालाई अन्य कानूनअनुसार कारबाही गर्न/गराउन काउन्सिललाई आग्रह गरेको छ ।

संघको ज्ञापनपत्र बुझेपछि काउन्सिलका अध्यक्ष बुढाथोकीले युट्युबमा भइरहेको विकृतिले सीमा नाघेको भन्दै कारबाही प्रक्रिया अब तीव्र पारिने प्रतिबद्धता जनाएका छन् । उनले पत्रकार आचारसंहिता मान्नुपर्ने पहिलो शर्त हुने र नमान्नेप्रति कुनै सहानुभूति नहुने स्पष्ट पारेका छन् । 

अनलाइन टिभी सञ्चालन गर्दै आएकाहरुलाई काउन्सिलले सूचीकृत हुन आग्रह गर्ने र सूचीकृत हुन आउनेलाई आचारसंहिताको दायरामा ल्याएर परिस्कृत गर्दै लैजाने योजना बनाएको पनि अध्यक्ष बुढाथोकीले जानकारी दिए । यससँगै सूचीकृत हुन नआउनेलाई काउन्सिलले नचिन्ने उनको भनाई छ ।

अनलाइन टिभीको क्षेत्रमा शुद्धीकरण र सुदृढीकरणका लागि संघसँग सबै प्रकारका सहयोग, सहकार्य र समन्वय गर्न काउन्सिलले चाहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

नेपालमा इन्टरनेटको माध्यमबाट प्रसारण भइरहेका अनलाइन टिभीमा देखिएका समस्या र विकृति न्यूनीकरण गर्न पहल गर्ने, यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरण गर्नेलगायतका उद्देश्यले संघ गतवर्ष दर्ता भएको हो ।

वि.सं २४ माघ ०७६ मा काठमाडौंमा भएको अनलाइन टिभी सञ्चालकहरुको प्रथम राष्ट्रिय भेलाले अनलाइन टिभी पत्रकार संघ गठन गर्ने, प्रचलित पत्रकार आचारसंहिता पालना गर्ने, स्वनियमनमा आधारित निर्देशिका बनाएर लागू गर्नेलगायतका निर्णय गरेको थियो ।

भेलाको निर्णयअनुसार गठन भई दर्ता भएको संघले पत्रकार आचारसंहिता र आफ्नै स्वनियमन निर्देशिका मान्नुपर्नेलगायतका सदस्यता मापदण्ड बनाएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

मापदण्ड मान्नेलाई मात्रै सदस्यता दिने, सदस्यहरुको हकहित र कल्याणका कार्य गर्ने, क्षमता वृद्धि गर्ने, जिम्मेवार बनाउने, अनलाइन टिभी क्षेत्रका बारेमा अध्ययन, अनुसन्धान गर्नेलगायतका काम पनि संघले गर्दै आएको छ ।

नेपालमा अहिलेसम्म के-कति अनलाइन टिभी छन् र उनीहरुको अवस्था के छ भन्नेबारेमा कुनै विवरण छैन । अनलाइन टिभीमार्फत रचनात्मक र जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै आएका सञ्चारकर्मीलाई राज्य र पत्रकारिताका निकायसँग समन्वय गराउने उद्देश्य पनि संघले लिएको अध्यक्ष भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट