भक्तपुरमा अस्पताल खोज्दाखोज्दै ज्यान गयो-Sutra News

भक्तपुरमा अस्पताल खोज्दाखोज्दै ज्यान गयो

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

भक्तपुर – सूर्यविनायक नगरपालिका–३ बालकोटका सञ्जय थापालाई एक्कासि ज्वरो आयो।



अहिलेको मौसमले रुघाखोकी लागेको होला भन्दै घरमा श्रीमती मनमायाले सिटामोल खुवाइन्। उनलाई पटकपटक तातोपानी, जाउलो र सुप खुवाइन्।

दुई दिनसम्म ज्वरो ओर्लिएन। सरकारले होम आइसोलेसनमै बस्न भनेको छ, दोस्रो दिन मनमायाले विभिन्न अस्पतालमा फोन गरिन्, कतै शय्या खाली भएको जानकारी पाइएन। ‘अस्पतालमा जुनसुकै बिरामी गए पनि पीसीआर परीक्षण नभई उपचार गर्न निजी अस्पतालले नमान्ने रै’छन्, सरकारीमा ठाउँ छैन’, उनले भनिन्।

भक्तपुरकै तीन निजी अस्पतालमा कुरा गर्दा संक्रमितको उपचारमा दिनकै ३५ हजार शुल्क लाग्ने र त्यो पनि शय्या छैन भन्ने उनले थाहा पाइन्।

‘बाहिर निषेधाज्ञा छ, ज्वरो र खोकीको औषधिले अलि कम भएजस्तो भयो तर निको भएन, तेस्रो दिन पिसिआर परीक्षण गर्ने सल्लाह हुँदै थियो, अचानक दिउँसो १ बजे श्वास फेर्न गाह्रो भो, एम्बुलेन्स र अस्पतालको खोजी गर्दागर्दै कोठामा ज्यान गयो’, उनले सुनाइन्।

शव व्यवस्थापनका लागि नेपाली सेनालाई भन्दा पीसीआर परीक्षणमा कोरोना पुष्टि भएर वडा कार्यालयले मुचुल्का उठाएर शव प्याक गरेपछि मात्रै लैजाने भन्ने जवाफ दिए।

त्यो प्रक्रिया नहुने भएपछि आफन्तको सहयोगमा राति १० बजे पशुपतिमा शव दाहसंस्कारका लागि लगियो।

मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेका शम्भु कार्कीको अचानक राति अक्जिसनको मात्रा घट्यो।

अस्पतालमा शय्याका लागि हारगुहार गर्दागर्दै बिहान ४ बजे घरमै मृत्यु भयो।

कोरोना भएपछि होम आइसोलेसनमा बसेकालाई गाह्रो हुनेबित्तिकै अस्पतालमा शय्या नपाउँदा उपचार नै नपाएर ज्यान जाने गरेको बताइएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितमध्ये ३१ जनाको घरमै मृत्यु भएको जानकारी दिए। त्यसमध्ये गत वैशाखयता मात्रै २१ संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको उनी बताउँछन्।

यो संख्या संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाको मात्रै हो। कतिपयले कोरोना संक्रमणको लक्षण देखिए पनि पिसिआर परीक्षण नगर्ने र सामान्य रुघाखोकीको ज्वरो हो भनेर बस्दा घरमै ज्यान जाने संक्रमितको तथ्यांक कार्यालयले राख्दैन।

भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले भाइरससँग मिल्ने लक्षण देखिँदा र संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाले पिसिआर परीक्षण नगरी घरमै बस्दा ज्यान जोखिममा पर्न सक्ने बताइन्।

संक्रमण भएर होम आइसोलेसनमा बसेपछि आवश्यक औषधि चलाउन सकिने र श्वासप्रश्वासमा समस्या भए तत्काल अस्पताल लैजान सकिने उनको भनाइ छ।

होम आइसोलेसनमा बस्नेले उचित स्वास्थ्य परामर्श नपाउँदा, सामाजिक सञ्जालमा संक्रमितले खाने भनेर राखिएका औषधि हचुवाको भरमा खाँदा ज्यान जोखिममा पर्ने डा गौतम बताउँछन्।

चिकित्सकसहितको परामर्श दिने व्यवस्था स्थानीय सरकारले समयमै सुरु नगर्दा होम आइसोलेसनमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको हो।

भक्तपुरमा शुक्रबारसम्म १९ हजार ३४४ संक्रमितमध्ये तीन हजार ५४२ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए। अहिले विभिन्न आइसोलेसनमा २०८, होम आइसोलेसनमा तीन हजार ३३४ जना छन् भने १५ हजार ५५६ संक्रमित निको भएर फर्किएका छन्। संक्रमितमध्ये २४६ जनाको ज्यान गएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट