काठमाडौं- नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली संवैधानिक ‘कु’ गरेर गणतन्त्र नै मास्ने खेलमा लागेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शनिबार देशबासी सम्पूर्णमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
शुभकामना
सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको ऐतिहासिक दिन हो । यस ऐतिहासिक सुखद अवसरको दिनमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
०६२/६३ मा नेपाली जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियौंदेखिको सामन्ती, निरंकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।
यो नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो । जनक्रान्तिकै बलबाट हामीले समावेशी लोकतन्त्र, समाजवाद उन्मुख संविधान र सामाजिक न्यायका उपलब्धिहरु हासिल गरेका छौं ।
जनक्रान्तिकै म्यान्डेट बमोजिम हामीले संविधानसभाको निर्वाचन गर्यौ । संविधान निर्माण गरेपश्चात संविधान कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय तहको गठन गर्यौ । यी हामीले हासिल गरेका महत्वपूर्ण उपलब्धीहरु हुन्
तर बिडम्बना यी उपलब्धिहरूलाई संस्थागत गर्दै अगाडि बढ्ने क्रममा हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्ने गरी २०७७ पुस ५ र २०७८ जेष्ठ ८ गते प्रतिनिधिसभा विघटन गरी संवैधानिक ’कु’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेका छन् । जसले गर्दा इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने पात्रका रुपमा केपी ओलीले आफूलाई स्थापित गरेका छन् । त्यतिमात्र होइन हामीजस्ता हजारौं लाखौं कार्यकर्ताको बलिदानिबाट बनेको पार्टीलाई एकातिर दलाल पुँजीपति वर्गको पार्टीजस्तो बनाउँदै बिचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेका छन्। भने अर्कातर्फ निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीको डण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेका छन् ।
यस क्रियाकलापबाट उनी पार्टीको संगठनलाई ध्वस्त बनाउन र मुलुकलाई अस्थिरताका साथै दक्षिणपन्थी भासतर्फ लैजान उद्धत छन् भन्ने कुरा प्रष्ट हुन्छ ।
त्यसैले पार्टीभित्र उत्पन्न दक्षिणपन्थी अवसरवादी सोच, चिन्तन र गतिविधिकाविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा निर्माण गर्न, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिंगो देशलाई एकतावद्ध बनाउन, प्रतिगमनविरुद्ध सबै देशभक्त लोकतान्त्रिक शक्तिहरु एक भई संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न, कोरोना महामारीको नियन्त्रणका लागि एकतावद्ध भएर परिचालित हुन र समाजवादको बाटोमा दृढतापूर्वक अगाडि बढ्न म सबैमा हार्दिक आह्वान गर्दछु ।
१५ जेष्ठ, २०७८