काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा चुनाव हुँदैन चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार रहेको बताएका छन् ।
शनिवार गणतन्त्र दिवशको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकमा जसरी पनि चुनाव हुने बताएका हुन्।
‘निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ।यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ,’ उनले भने,’यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’
ओलीले गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको बताएका छन् ।
उनले सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताको आधारमा शासकहरू स्थापित हुने, वंश परम्पराले निरन्तरता र नेतृत्व पाउने तथा ‘हुकुम’बाट राज्य सञ्चालन गर्ने व्यवस्था शुरु भएको उल्लेख गरेका छन् ।
‘विधियुक्त राज्य प्रणालीले कानूनको शासन र लोकतन्त्रको प्रतिनिधित्व गर्दछ। सारपूर्ण र वास्तविक गणतन्त्रसहितको लोकतन्त्र नै पूर्ण लोकतन्त्र हो,’ १४ औं गणतन्त्र दिवस मुल समारोह समितिद्वारा आर्मी अफिसर्स क्लबमा शनिबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने,’ हाम्रा सम्पूर्ण साधनस्रोत तथा प्रयासहरू ती आकाङ्क्षालाई मूर्त रूप दिन नै केन्द्रित छन्।’