कांग्रेसको टिप्पणी : बजेट एमालेको चुनावी घोषणापत्र जस्तो !-Sutra News

कांग्रेसको टिप्पणी : बजेट एमालेको चुनावी घोषणापत्र जस्तो !

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

नेपाली कांग्रेसले बजेट एमालेको चुनावी घोषणापत्र जस्तो भएको प्रतिक्रिया दिएको छ ।



पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा. रामशरण महतले आज अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट निर्वाचन लक्षित घोषणापत्र मात्र भएको टिप्पणी दिएका हुन् ।

सूत्रन्यूजसँग कुरा गर्दै महतले भने – ‘निर्वाचन घोषणा गरेको छ, त्यो निर्वाचनमा मतदाता प्रभावित पार्ने खालको बजेट छ । ठ्याक्कै भन्दा घोषणापत्र जस्तो छ बजेट ।’

उनले निर्वाचन लक्षित गर्ने हिसाबले प्रत्येक वर्गलाई खुसी पार्ने कुराहरू बजेटमा राखिएको टिपणी गरे । ‘कतिपय घोषणा सकारात्मक छन्,’ उनले भने, ‘तर ती तुरुन्तै कार्यान्वयन हुन सक्ने अवस्थामा छैन । अर्थव्यवस्थाले धान्ने अवस्था पनि छैन । राजस्व पनि बढ्दै जानुपर्यो । आय आर्जन पनि बढ्नुपर्यो । राजनीतिक स्वार्थबाट प्रेरित भएर यो बजेट ल्याइयो ।’

महतले कामचलाउ सरकारले फूल बजेट ल्याउनै नसक्ने तर्क गरे ।

‘वर्तमान सरकार कामचलाउ सरकार हो । संसदमा बहुमतप्राप्त सरकार र संसदको विश्वास प्राप्त सरकार होइन,’ उनले भने, ‘त्यस्तो सरकारले मात्र फूल बजेट ल्याउन सक्थ्यो । तर संसद नै भंग गरेको अवस्थामा काम चलाउ सरकारले यो ढंगले बजेट ल्याउने नै होइन ।’

महतले धेरै सीमा हुँदाहुँदै पनि कामचलाउ सरकारले यत्रो ठूलो बजेट प्रेजेन्टेसन गर्नु अत्यन्तै गैरजिम्मेवारी देखिएको तर्कसमेत गरे । ‘यो अत्यन्त प्रचारात्मक छ,’ उनले भने, ‘सबै वर्गलाई खुसी पार्ने हिसाबले राजनीतिक स्वार्थका लागि ल्याइएको जस्तो बजेट छ । बजेट छिरल्ने हिसाबले र सबैलाई राम्रो गरेजस्तो देखाउने हिसाबले आयो बजेट ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट