काठमाडौं- जनता समाजवादी पार्टी, (जसपा) को दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् । यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो ।
यसअघि जेठ ११ गते दुवै पक्षले तीन/तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा दुवै पक्षले जवाफ पठाएनन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ नदिने भएका छन् ।
स्पष्टीकरण सोधिएको अवधि समाप्त भएमा एकले अर्कालाई कारबाही गर्ने तयारी दुवै पक्षले गरेका छन् । दुवै पक्षले एकले अर्कालाई पार्टीबाट निष्कासित गर्ने तयारीमा पुगेको छ । शनिबार बिहान उपेन्द्र यादवले महन्थ ठाकुर र ठाकुरनिकट राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधे ।
स्पष्टीकरण चित्त नबुझे पार्टीबाट निकाल्ने चेतावनी यादवले दिएका छन् । यादव पक्षबाट स्पष्टीकरण सोधिएको लगत्तै ठाकुर पक्षले यादवलाई स्पष्टीकरण सोधेका छन् ।
ठाकुरले सोधेको स्पष्टीकरण पनि २४ घण्टाका लागि समय दिइएको छ । ठाकुरलगायत ठाकुरनिकट नेताहरूलाई सोधिएको स्पष्टीकरणमा कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन् भने यादवलाई सोधिएको स्पष्टीकरणमा ठाकुर आफैंले हस्ताक्षर गरेका छन् ।
दुवै पक्षले आफूलाई आधिकारिक देखाउन कार्यकारिणी समितिमा बहुमत जुटाउन सक्रिय भएका छन् ।
कार्यकारिणीमा अहिले यादव पक्ष बहुमतमा छ तर यादव पक्षका केही सदस्य कित्ता परिवर्तन गरी आफूतिर आइसकेको ठाकुरनिकट नेताले बताएको खबर नागरिक दैनिकमा छ ।