काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्धका रिटमाथि आइतबारको सुनुवाइ सुरु भएको छ ।
गत शुक्रवार ‘हेर्दाहेर्दै’ मा राखिएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
शुक्रबारको बहसमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच इजलासमै मतभेद भएपछि सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखेर स्थगित गरिएको थियो ।
तत्कालीन नेकपाको विवादका बारेमा फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको विषयमा रिट दायर गर्ने पक्षका अधिवक्ता गोविन्द बन्दीलगायतले प्रश्न उठाएपछि इजलासमा मतभेद भएको थियो ।
अधिवक्ता बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ इजलासमा नरहँदा अदालतको मान बढ्ने कुरा उठाएपछि प्रधानन्यायाधीश जबराले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने जवाफ फर्काएका थिए ।