काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई वरिष्ठ अधिवक्ता शम्भु थापाले बिदामा बस्न सुझाव दिएका छन् ।
आइतवार प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न गठन गरिएको संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागिताप्रति सवाल-जवाफ गर्ने क्रममा उनले त्यस्तो सुझाव दिएका हुन् ।
अधिवक्ता थापाले भारतको एउटा उदाहरण दिँदै प्रधानन्यायाधीशलाई बिदामा बस्न सुझाव दिएका हुन् । सवाल-जवाफमा उत्रँदै उनले भने, ‘भारतमा न्यायाधीश दीपक मिश्रमाथि पनि प्रश्न आएपछि आफूबाहेक राखेर इजलास गठन गरेर फैसला भएको थियो। फैसला चाहिन्छ भने म दिन्छु। तपाईंको विकल्प के छ भन्नुभयो, बिदामा बस्नुस्।’
त्यस्तै संवैधानिक इजलासमा अर्का अधिवक्ता गोविन्द बन्दीले बमकुमार श्रेष्ठको सहभागीतामाथि प्रश्न उठाएका छन् ।शुक्रवार भएको सुनुवाइका क्रममा पनि उनले यही प्रश्न उठाएका थिए ।