गोकर्णेश्वरमा २५ शैयाको आइसोलेशन सेन्टर स्थापना-Sutra News

गोकर्णेश्वरमा २५ शैयाको आइसोलेशन सेन्टर स्थापना

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ श्ययाको आइसोलेशन सञ्चालन गरेको छ ।  नगरपालिका, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए । सामुदायिक वनमा रहेको स्मारकका भवनमा यसअघि गत वर्ष पनि आइसोलेशन सञ्चालन गरिएको थियो ।



आइसोलेशनमा गोकर्ण प्राथमिक अस्पतालका चिकित्सकले स्वास्थ्य सेवा दिएको नगरपालिकाले जनाएको छ । यसैगरी लायन्स क्लबका तर्फबाट आइसोलेशनमा अक्सिजनको व्यवस्थासमेत गरिएको छ । आइसोलेशन सञ्चालन भएपछि होम आइसोलेशन नहुनेका लागि सहज भएको जनाइएको छ ।

नगरपालिकामा हालसम्म चार हजार ३४८ जना कोरोना सङ्क्रमित भएका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलिएपछि दुई हजार २२ सङ्क्रमित भइसकेका छन् । गत वर्ष पहिलो चरणको कोरोनाले दुई हजार ३४८ सङ्क्रमित भएका थिए ।

दोस्रो लहरले सङ्क्रमित भएकामध्ये एक हजार ३८९ जना घर फर्केका छन् । पाँच सय ९७ अहिले पनि सक्रिय सङ्क्रमित छन् । दोस्रो लहरको कोरोनाले नगरपालिकाका ३६ नगरवासीको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । गत वर्ष पहिलो चरणको कोरोनाले भने २८ जनाको निधन भएको थियो । 

नगर क्षेत्रमा कोरोनाको लक्षण देखिएकालाई गोकर्ण प्राथमिक अस्पतालमा सोमबार र बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाउने गरिएको छ । यसैगरी नारायणटारस्थित शङ्खरापुर अस्पतालमा बुधबार पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । अत्यावश्यक भई परीक्षण गर्नुपरेमा भने एन्टिजेन परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।
 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट