क्रियाशील सदस्यताको विवरण बुझाउने म्याद पुनः थप-Sutra News

क्रियाशील सदस्यताको विवरण बुझाउने म्याद पुनः थप

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौं- कांग्रेसले क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने म्याद पुनः थप गरेको छ ।



देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई सय सात स्थानमध्ये क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी रहेका एक सय ६ स्थानका लागि पुनः म्याद थपिएको हो ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले २५ जेठको राति १२ बजेसम्म क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भएको भए सच्याउन निर्देशन गरेको समितिका सचिव केशव रिजालले जानकारी दिए ।

पटक–पटक सूचित गर्दा पनि क्रियाशीलको विवरण प्राप्त नभएको भन्दै कांग्रेसले १५ वैशाखको रातिदेखि क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने सफ्टवेयर बन्द गरेको थियो ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सो अवधिमा पूरा विवरण इन्ट्री गरिसकेका एक सय एक स्थानको नामावली वेबसाइटमा सार्वजनिक गरिसकेको छ ।

जसमध्ये ४५ जिल्लाका ८० स्थानको विवरण ३० वैशाखमा र १६ जिल्लाका २१ स्थानको विवरण शनिबार सार्वजनिक गरिएको छ । अहिलेसम्म करिब आठ लाख सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री भएको छ ।

नामावली सार्वजनिक भइसकेका ठाउँबाट कसैको नाममा दाबी–विरोध वा उजुरी भए सम्पर्क गर्नसमेत समितिले आग्रह गरेको छ ।

कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्मका लागि १४ औँ महाधिवेशनको मिति तोकेको छ । तर, महाधिवेशनका लागि तल्लो तहका मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको अझै टुंगो लागेको छैन ।

केन्द्रीय समितिले यसअघि निर्धारण गरेको कार्यतालिकाअनुसार ५ असारदेखि वडास्तरबाट अधिवेशन सुरु हुनुपर्ने हो । तर, सो समयमा महाधिवेशन नहुने पक्का भइसकेको छ ।

कोरोना भाइरसको महामारीका कारण काँग्रेसले महाधिवेशन तोकिएकै समयमा गर्ने वा सार्ने भन्नेबारे छलफलसमेत गर्न पाएको छैन ।

आफ्नो विधान बमोजिम पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि ६ फागुनमा बसेको केन्द्रीय समिति बैठकबाट संविधानको विशेष व्यवस्थाको प्रयोग गर्दै विधान संशोधन गरेको ६ महिना म्याद थप गरेको थियो ।

जसअनुसार ५ असारमा वडा, ७ असारमा गाउँ, नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

साउन १० र ११ गते प्रदेश अधिवेशन र भदौको ७, ८, ९ र १० गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट