काठमाडौं- नेकपा एमालेको स्थायी कमिटि बैठक पुनः सरेको छ । बैठक भोलि मंगलबारका लागि सरेको हो । आइतबार बस्ने भनिएको बैठक सोमबार बिहान १० बजेका लागि सारिएको थियो ।
बैठक मंगलबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । स्पष्टीकरण सोधिएका नेताहरुलाई कारबाही गर्नेसहितको विषयमा छलफल गर्न बैठक बस्ने तयारी छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने जनाइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो ।
घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको हो ।