काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजनका लागि तम्तयार बनेपछि उक्त पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्न प्रस्ताव गरेका छन् ।
नेपालकाे वर्तमान राजनीतिमा समयले नयाँ ध्रुवीकरण खाेजेकाे दाबी गर्दै उनले तानातान र किनबेचकाे तमासा नगरेर भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीलाई साथ दिने कि उनकाे विकल्प खाेज्ने भन्नेमा जसपा विभाजत छ । पार्टीकाे महन्थ-राजेन्द्र पक्षले ओलीलाई चट्टानी साथ दिएकाे छ भने उपेन्द्र-बाबुराम पक्ष जसरी पनि ओलीलाई सत्ताबाट हटाउनु पर्ने अडानमा छ ।
दुवै पक्ष आ-आफ्नाे अडानबाट टसमस नभएपछि पार्टी विभाजनकाे चरणमा पुगेकाे छ । दुवै अध्यक्ष यादव र ठाकुरले एक अर्कालाई पार्टीबाटै निष्काशन गर्ने तयारी गरिरहेका छन् ।
साेही परिप्रेक्षमा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले हात मिलाएर आ-आफ्नाे बाटाे लाग्न प्रस्ताव गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनै पर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अत:मान्छे तानातान र किनबेचको तमासा नगरौँ ! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ ! हात मिलाएर आआफ्नो बाटो लागौँ ! हिँडिरहे फेरि भेट हुनेछ ।’
डा.भट्टराईले यस किसिमको अभिव्यक्ति दिइरहँदा महन्थ ठाकुर पक्ष प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र ठाकुर पक्षबीच वार्ता जारी छ । ठाकुर पक्ष पार्टी फुटाएर सरकारमा जाने तयारीमा छ ।
अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाॅ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयाॅ ध्रुवीकरण खोज्दैछ।अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ!
— Baburam Bhattarai (@brb1954) May 30, 2021