प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई ८ मन्त्रालय दिन सहमत भएका छन् ।
सोमवार बालुवाटारमा भएको भेटवार्तामा यस्तो सहमति भएको बालुवाटार स्रोतले दाबी गरेको छ ।
‘राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्री लिएर उहाँहरू सरकारमा आउन सहमत हुनुभएको छ,’ बालुवाटार स्रोतले पुष्टि गर्यो ।
सरकारमा राजेन्द्र महतो, उमाशंकर अरगरिया, शरतसिंह भण्डारी, अनिल झा र विमल श्रीवास्तव जाने पक्कापक्की भइसकेको छ ।
सूत्रन्यूजसँग कुरा गर्दै श्रीवास्तवले भने – ‘नाममा म अझै प्रष्ट छैन । ८ मन्त्रालय लिने कुरा त हिजै महन्थ ठाकुरले हामीसँग गरिसक्नुभएको थियो ।’
बालुवाटार स्रोतका अनुसार श्रीवास्तवको नाम पनि मन्त्री हुने लिस्टमा छ । उनीहरूको सपथ आजै या भोलिसम्म हुने सम्भावना रहेको स्रोतको दाबी छ ।