काठमाडौं- लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेयले लोकतन्त्र पक्षधरको जित भएको प्रतिक्रिया दिएका छन् ।
सोमबार निर्वाचनको परिणामपछि दाङको घोराहीमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो जित लोकतन्त्र पक्षधरहरुको जित भएको बताएका हुन् ।
आफ्नो जितले एकता के हो भन्ने स्पष्टरूपमा देखाइदिएको प्रतिक्रिया दिए । उनले सरकारलाई आफूहरुको एकतालाई कम नआक्न र अहिलेको अवस्था बुझेर काम गर्न चेतवनी दिएका छन् ।
सदनमा अब आफूले संघीयता गणतन्त्रका विषयलाई जोडतोडका साथ उठाउने प्रतिबद्धता जनाए ।
मतपरिणाम घोषणासँगै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नवनिर्वाचित सदस्य पाण्डेयलाई प्रमाणपत्र प्रदान गरेका छन् ।
पाण्डेयले ४ हजार १ सय ४० मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत ल्याए ।