नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको तिखो व्यङ्ग्य-वाणद्वारा घोच्ने शैली आफूलाई मन परेको प्रतिक्रिया दिएका छन् ।
एमालेको मुखपत्र नवयुगमा अन्तर्वार्ता दिँदै बादलले ओलीका धेरै सकारात्मक पक्षमध्ये तीखो व्यङ्ग्य-वाणद्वारा घोच्ने शैली मन परेको बताएका हुन् ।
उनलाई सोधिएको मध्ये एउटा प्रश्न थियो – तपाईंलाई प्रधानमन्त्रीका कुन पक्षले बढी आकर्षित र प्रभावित गर्यो ?
यसको जवाफ दिंदै बादलले भनेका छन् – ‘प्रधानमन्त्रीज्यूको ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ दृढता, महाशक्तिसँग जुध्ने अदम्य देशभक्ति, देश र जनताका लागि आफ्नो स्वास्थ्यको वास्ता नगरी १८ घन्टासम्म काममा निरन्तर खटिने लगनशीलता छ । जनविरोधी र शत्रुहरूलाई तीखो व्यङ्ग्य-वाणद्वारा घोच्ने, जनतालाई ठेट नेपाली विम्ब र उखानटुक्काद्वारा उत्साहित र उप्रेरित गर्ने, सिद्धान्तप्रति निष्ठा, स्पष्टवक्ता, आत्मविश्वास, सरलता, कार्यकर्ताप्रति स्नेह र संरक्षण सायद यिनै पक्षहरूले मलाई प्रभावित र आकर्षित गर्यो कि !‘