काठमाडौं- डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा-छोरीको उपचार सरकारले बेहोर्ने भएको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो ।
डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतिरहेको अबस्थामा ज्यान मार्ने मनसायले आगो लगाएका थिए ।
उक्त घटनामा आमा-छोरी नै घाइते भएका छन् । सन्तोषले सुतेको कोठा बाहिरबाट प्रज्वलनशिल तरलपदार्थ कोठाभित्र खन्याई आगो लगाएका मन्त्रालयले जनाएको छ ।
सो घटना यही जेठ १२ गते भएको जनाइएको छ । घाइते दुबैलाई तत्काल जिल्लास्थित सुजङ अस्पताल पुर्याई उपचार गरिएकोमा उनीहरुलाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित कीर्तिपुरस्थित अस्पतालमा ल्याइएको छ ।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडा कारवाही हुने जनाइएको छ ।
मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस्ता घटना दोहोरिन नदिन मन्त्रालय कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
आगोलागी पीडितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, बन मन्त्री आलेले उपचारका लागि सहयोग गरे २५ हजार