काठमाडौं- देशका अधिकांश क्षेत्रमा मंगलबार सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको हो ।
अहिले प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भू–भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश एक–दुई स्थानहरुमा हल्का वर्षा भएको छ ।
मंगलबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकी प्रदेशमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का सम्भावना रहेको मौसमविदले बताएका छन् ।