काठमाडौँ । संवैधानिक इजलास सम्बन्धि विवादलाई हटाउनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अबको एक हप्ताभित्र वरियताको आधारमा संवैधानिक इजलास गठन गर्ने भएका छन् ।
आज मंगलवार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।
प्रधानन्यायाधीशसँगको भेटपछि अध्यक्ष पूर्णमान शाक्यले संचारकर्मीहरुसँग कुरा गर्दै संवैधानिक इजलासमा भविष्यमा पनि आउन सक्ने विवादलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । ‘संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ,’ उनले भने, ‘कुनै कारणले न्यायाधिश संवैधानिक इजालासमा बस्न नसक्ने अवस्था आयो भने, उ भन्दा तलको सिनियर जो छ उसलाई ल्याएर इजलास गठन गर्ने कुरामा सहमति भएको छ ।’
आज इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबिच छलफल भएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाई गर्नका लागि गठन भएको संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे आइतवार प्रश्न उठेको थियो ।
उनीहरुमाथि प्रश्न उठेपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले उनीहरु बाहिरिनु उपयुक्त भएको सुझाएका थिए ।