काठमाडौँ ।जनता समाजवादी पार्टिका भट्टराई- यादव पक्षले जसपा अध्यक्ष ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
उक्त पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो । आज मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले उनीहरुलाई कारबाही गरेको एक नेताले जानकारी दिए ।
यसअघि नै भट्टराई-यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए।प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई ८ मन्त्रालय दिन सहमत भएका छन् ।
सोमवार बालुवाटारमा भएको भेटवार्तामा यस्तो सहमति भएको बालुवाटार स्रोतले दाबी गरेको छ ।
‘राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्री लिएर उहाँहरू सरकारमा आउन सहमत हुनुभएको छ,’ बालुवाटार स्रोतले पुष्टि गर्यो ।
सरकारमा राजेन्द्र महतो, उमाशंकर अरगरिया, शरतसिंह भण्डारी, अनिल झा र विमल श्रीवास्तव जाने पक्कापक्की भइसकेको छ ।