दैनिक मृत्यु भएका युवा, वयस्क, देश र समाजलाई चाहिने व्याक्तित्व लगायत धेरै जनाको मृत्युको साक्षी बस्नुपर्दा सामाजिक सञ्जाल तथा समाचार हेर्न हिम्मत जुटाउनुपर्ने अवस्था छ ।
सिकिस्त बिरामीका फोटो, अक्सिजन पाइप लगाएर आइसियुमा उपचाररत संक्रमितका तस्वीर, महामारीका कारण आम जनतामा परेको नोक्सानी तथा सत्ताको लागि नेतामा देखिएको असंवेदनशीलता आदिको पोट्रेट निरासाजनक छ । पक्षधरताको कारण राम्रो कुरामा पनि नकारात्मक टिप्पणी गर्ने परम्परा झनै दिक्कलाग्दो छ ।
महामारीको समयमा पनि विभाजित मनस्थितिले कसरी बिजयको पताका फहराउन सकिएला ? ३ करोड नेपाली एकजुट भएर तथा विश्व समुदायबाट सक्दो सहयोग प्राप्त गरेर महामारीबिरुद्ध लड्नुपर्ने यो अवस्थामा हाम्रा मन, बचन र कर्म दिग्भ्रमित भएका छन् ।
जनतालाई आशा र आत्मबल चाहिएको छ । त्यो दियोलाई हुरीबाट बचाउन सकेनौं भने यसको दीर्घकालीक असर हुनेछ ।
यो महामारीले युवा, वयस्क तथा वृद्ध उमेर भनेको छैन । हामीमध्ये जोकोही पनि संक्रमित वा अस्पताल भर्ना वा आइसीयु वा मृतकको सूचीमा पर्न सक्छौं भन्ने हेक्का हरेक व्यक्तिले राख्न सकेमा र तदनुसार व्यवहार परिवर्तन गर्न सकेमा महामारीको केही पनि लाग्दैन ।
अहिले जीवन बचाउने ५ वटा मन्त्र छन् – खोप, जनस्वास्थ्यका मापदण्डको पालना, स्वस्थ जीवनशैली, सकारात्मक सोच र आत्मबल । यी पन्चामृत मध्ये कुनै एकको दियो निभ्यो भने हाम्रो जीवन अपुरो तथा जोखिमयुक्त हुन्छ । भनिन्छ – युनिटी इज इम्युनिटी । यी ५ वटा मन्त्रलाई आफ्नो जीवनशैली बनाएर अघिं बढौं ।
मानसिक शान्तिको लागि सामाजिक संजाल तथा धेरै समाचार हेर्ने बानी स्थगित गरौँ । सिकिस्त, श्रद्धान्जली, संक्रमित….. आदि नकारात्मक समाचारलाई हाम्रो अवचेतन मनमा बस्न निषेध गरौँ । यो रात छिट्टै ढल्नेछ र सुन्दर बिहानीको उदय हुनेछ ।