थुप्रै देशमा “सेक्स सरोगेट थेरपी” अर्थात् यौनसेवीबाट उपचार गराउने विधि विवादास्पद मानिन्छ। यसको अभ्यास त्यतिधेरै हुँदैन पनि। यद्यपि इजरेलमा सरकारको खर्चमा नै गम्भीर घाइते भएका सैनिकलाई यसको सेवा उपलब्ध गराइन्छ। यो थेरपीअन्तर्गत बिरामीको उपचारका लागि ‘सरोगेट सेक्सूअल पार्टनर’ अर्थात् प्रतिनिधि यौनसाथी खटाइन्छ।
इजरेली यौन थेरपिस्ट डा. रोनित अलोनीको तेल अभिभमा सञ्चालन गर्ने परामर्शकक्ष धेरैले अपेक्षा गरे जस्तो नै देखिन्छ। आगन्तुकका लागि त्यहाँ एउटा आरामदायी सोफा छ, महिला र पुरुषको यौनाङ्गका चित्रहरू पनि छन्।
तर सँगैको कोठामा जे हुन्छ त्ययो अझै अचम्मलाग्दो छ। त्यो कोठामा सुत्न मिल्ने एउटा सोफा र मैनबत्तीहरू छन्।
त्यो कोठामा पैसा तिरिएका यौनसाथीहरूले अलोनीका ग्राहकलाई कसरी अन्तरङ्ग सम्बन्ध र यौन सम्पर्क गर्ने भनेर सिकाउँछन्।
“यो होटलजस्तो देखिँदैन – यो घरजस्तो, अपार्टमेन्टजस्तो देखिन्छ,” अलोनी भन्छिन्।
त्यहाँ एउटा खाट, सङ्गीत बजाउन सीडी प्लेयर, जोडिएको स्नानकक्ष र भित्तामा कामुक कलाकृतिहरू छन्।
“यौन थेरपी धेरै अर्थमा जोडीले गर्ने थेरपी हो र कसैको साथी छैन भने यो प्रक्रिया पूरा गर्न सकिँदैन,” उनले भनिन्। “पुरुष वा महिला जो भए पनि सरोगेट साथी जोडी बनिदिन्छन्।”
आलोचकहरूले यसलाई “वेश्यावृत्ति” जस्तो भने पनि इजरेलमा यो केही हदसम्म स्वीकार्य भएको छ। अनि सरकारले नै घाइते भएका र यौन सम्पर्क राख्न असमर्थ सेनाको खर्च बेहोरिदिन्छ।
“मानिसहरूले अरूलाई सन्तुष्टि दिन सक्छु र अरू कसैसँग सन्तुष्टि लिन सक्छु भन्ने महसुस गर्न आवश्यक छ,” सेक्स रीहविलटेशन अर्थात् यौन पुनर्स्थापनाको विषयमा विद्यावारिधि गरेकी अलोनीले भनिन्।
“मानिसहरू थेरपीका लागि आइरहेका छन्। उनीहरू सन्तुष्टिका लागि होइन। यो वेश्यावृत्तिजस्तो हुँदै होइन,” उनले भनिन्।
ए नामबाट चिनिन चाहने एक इजरेली सैनिकले रक्षा मन्त्रालयबाट यौनसेविकाबाट पाइने थेरपीका लागि पैसा पाएका थिए।
झन्डै ३० वर्षअघि एउटा अग्लो ठाउँबाट खस्दा उनको कम्मरमुनिको भाग नचल्ने भएको थियो। त्यसपछि उनले यौन सम्पर्क गर्न सकेनन्। त्यतिबेला उनको विवाह भइसकेको थियो र उनका सन्तानहरू पनि थिए।
तर उनकी पत्नी यौन सम्बन्धबारे चिकित्सक वा थेरपिस्टहरूसँग कुरा गर्न सहज मान्दैन थिइन्। त्यसैले उनले आफ्ना पतिलाई अलोनीसँग सहयोग लिन प्रोत्साहित गरिन्।
उनले यौनसेविकासँगको प्रत्येक सत्रपछि अलोनीले आफूलाई कस्तो निर्देशन र सुझाव दिइन् भन्ने बताए।
“यसरी सुरु हुन्छ: तपाईँले यसलाई छोइरहनुभएको छ, त्यहाँ छोइरहनुभएको छ र त्यसपछि चरमोत्कर्षमा नपुग्दासम्म एकपछि अर्को चरण हुन्छ,” उनले भने।
ती सैनिकले साप्ताहिक सत्रका लागि राज्यले पैसा तिर्नु ठिकै भएको उनले तर्क गरे। आजको दिनमा तीन महिनाको उपचारका लागि ५,४०० डलर लाग्छ।
“सरोगेटकहाँ जाने मेरो चाहना थिएन, तर म घाइते भएँ अनि जीवनको सबै पक्षमा म पुनर्स्थापित हुन चाहन्छु,” टेनिस खेल्न ट्र्याकसूट लगाइ ह्वीलचेअरमा बसेर निस्किन लागेका उनले भने।
“म सरोगट यौनसाथीसँग प्रेममा परिनँ। म विवाहित हुँ। यो केवल विधि जान्नका लागि मात्रै हो। मैले गर्नुपर्ने एउटा युक्तिसङ्गत कुराका रूपमा मैले यसलाई लिएको छु।”
“यौन जीवनको एउटा अङ्ग हो, यो जीवनको सन्तुष्टि हो,” उनले भने। “म धेरै महिलासँग सम्बन्ध राख्ने खालको पुरुष बनिरहेको छैन, त्यो कुरा नै होइन।”
विभिन्न उमेर समूह र फरक पृष्ठभूमिका मानिसहरू अलोनीलाई उनको क्लिनिकमा गोप्य रूपमा भेट्न गइरहन्छन्।
यौन दुर्व्यवहारबाट प्रताडित वा चिन्ताका कारण प्रेमपूर्ण सम्बन्ध बनाउन थुप्रैले सङ्घर्ष गरिरहेका हुन्छन्। अन्यमा शारीरिक र मानसिक स्वास्थ्य समस्या हुन्छ।
अलोनीले सुरुदेखि नै अपाङ्गता भएका ग्राहकमा आफ्नो काम केन्द्रित गरिन्। उनका बुवा तथा धेरै आफन्तमा अपाङ्गता थियो।
उनी एक सरोगेटसँग निकट रहिन् जो न्यूयोर्कमा बस्दा अपाङ्गता भएका व्यक्तिहरूसँग काम गर्थिन्।
सन् १९८० को दशकको अन्त्यतिर जब उनी इजरेल फर्किन् उनले नेतृत्वदायी भूमिकामा रहेका यहुदी धर्मगुरूहरूबाट सरोगेटका रूपमा काम गर्न अनुमति पाइन्।
त्यसपछि उनले एउटा ग्रामीण समुदाय किब्बट्सस्थित पुनर्स्थापना केन्द्रमा थेरपी प्रदान गर्न थालिन्।
धर्मगुरुहरूले एउटा नियम बनाएका थिए – विवाहित व्यक्तिले सरोगेट बन्न नपाउने। यता अलोनीले त्यसलाई स्वीकारेकी छन्।
समयक्रममा उनले इजरेली समुदायको साथ पाइन्। उनको क्लिनिकबाट सेवा लिएका झन्डै १,००० मानिसमध्ये धेरै सेनाबाट अवकाश प्राप्त घाइते छन् भने धेरैको मस्तिष्कमा आघात पुगेको वा मेरुदण्ड भाँचिएको छ। उनीहरू सबैलाई त्यहाँको सरकारले उपचारको खर्च उपलब्ध गराउँछ।
“इजरेलमा सबैलाई घाइते भएका वा मारिएका मानिसबारे थाहा छ र यी मानिसहरूलाई क्षतिपूर्ति दिनेबारे सबैको धारणा सकारात्मक छ। हामी उनीहरूप्रति आभारी छौँ।”
डेभिड नामबाट बोलाइने झन्डै ४० वर्षीय सैनिक सन् २००६ को लेबनन युद्धमा घाइते भएपछि उनको जीवन तहसनहस भयो। त्यसपछि उनी हिँड्न वा बोल्न नसक्ने भए।
एक व्यावसायिक थेरपिस्टको सहयोगले मात्रै उनी दोहोरो कुराकानी गर्न सक्छन्।
थेरपिस्टले उनको हातलाई सहारा दिनुपर्छ र कलम राखिदिएपछि मात्रै उनले सेतोपाटीमा केही लेख्न सक्छन्।
आफू कार्यरत सैन्य शिविरमा आक्रमण हुँदा उनको खुट्टा र टाउकोमा गम्भीर चोट लाग्यो। उपचारका लागि उनी तीन वर्ष अस्पतालमा बसे।
त्यतिबेला उनीको जिजीविषा नै मरिसकेको थियो।
एक व्यावसायिक थेरपिस्टले उनलाई सरोगेट सेक्स थेरपीबारे जानकारी दिएपछि उनको मनस्थिति केही परिवर्तन हुन थाल्यो।
“थेरपी सुरु गरेको बेला मैले आफूलाई हीन महसुस गरेको थिएँ। थेरपी गरिरहँदा मैले आफूलाई पुरुष, युवा र सुन्दर महसुस गर्न थालेँ,” डेभिडले भने।
“म घाइते भएयता पहिलो पटक मलाई थेरपीले शक्ति र आशा दिएको थियो।”
डेभिडले सुरु गरेको त्यो अन्तरङ्ग सम्बन्ध थियो र त्यो अन्त्य हुन्छ भन्ने पनि उनलाई थाहा थियो। त्यसोभए के उनलाई आफ्नो मन दुख्न सक्छ भन्ने थाहा थियो?
“सुरुमा, मेरो लागि त्यो निकै कठिन थियो किनभने यौनसेविका मेरी मात्रै भइदिऊन् भन्ने म चाहन्थेँ,” उनले भने। “तर मैले के महसुस गरेँ भने हामी यौनसाथी नभए पनि असल साथी बनिरहन्छौँ।”
नियमानुसार सरोगेट र ग्राहकहरू थेरपीबाहेकको समयमा सम्पर्कमा बस्न पाउँदैनन्। तर डेभिडको हकमा भने उनलाई थेरपी सेवा दिने सरोगेट सेराफिनासँग त्यसपछि पनि सम्पर्कमा रहन पाउने विशेष अनुमति डाक्टर अलोनीले अन्तिम सत्रका बेला दिएकी थिइन्।
डेभिडसँग निकटस्थहरूले उपचारयता उनमा परिवर्तन आएको देखेको बताएका छन्। उनी आफ्ना भविष्यका योजनामा केन्द्रित हुन थालेका छन्।
सेराफिनाले सरोगेटका रूपमा रोनित अलोनीसँग काम गरेको एक दशकभन्दा बढी भयो।
उनले हालै आफ्नो अनुभवबारे एउटा पुस्तक लेखेकी छन्। ‘मोर द्यान अ सेक्स सरोगेट ‘नामक पुस्तकबारे प्रकाशकले लेखेका छन् “अन्तरङ्ग, गोप्य र माया गर्ने तरिकाबारे एउटा नौलो संस्मरण”।
तेल अभिभ क्लिनिकमा काम गर्ने अन्य सरोगेटजस्तै सेराफिनाको पनि अर्को जागिर छ। उनी कला क्षेत्रमा काम गर्छिन्। परोपकारको उद्देश्यले आफूले सेक्ट सरोगेटको भूमिका निर्वाह गरेको उनको भनाइ छ।
“थेरपी प्रक्रियामा लैङ्गिकता अथवा आफ्नो शरीर अथवा स्पर्श प्रयोग गर्ने उपायमा मलाई कुनै समस्या छैन। मलाई यो विषय आकर्षक लाग्थ्यो।”
सेराफिनाले आफूलाई “पथप्रदर्शक” जस्तै ठान्छिन्, जहाँ उनी उनीहरूलाई थाहा भएको मार्गमा आफ्ना ग्राहकलाई लैजान्छिन्।
उनले अन्य सैनिकसहित अहिलेसम्म ४० जना ग्राहकसँग काम गरिन्। तर डेभिड जुन स्तरमा घाइते भएका थिए त्यसले आफूलाई अनौठो चुनौती दिएको उनले बताइन्।
उनले डेभिडलाई लेख्न कसरी सहयोग गर्ने भन्ने तरिका पत्ता लगाइन्। त्यसबाट उनीहरू गोप्य संवाद गर्न सक्ने भए।
“मलाई थाहा भएको सबैभन्दा कठिन काम डेभिडको हो। कुन दिशामा जाने भन्ने उपाय नभएको मानिसलाई मरुभूमिमा हिँड्नु जस्तै थियो,” उनले भनिन्।
“उनी हलचल गर्न नसक्ने भएकाले मैले एकदमै धेरै रचनात्मक बन्नुपर्थ्यो। उनी चल्न सक्थे भने कसरी चल्थे होला भन्ने कल्पना गर्दै म उनको शरीर चलाइदिन्थेँ। उनी आफ्नो शरीरमा महसुस गर्न सक्थे तर चल्न सक्दैन थिए।”
“डेभिड मलाई भन्छन्: ‘मैले केही नभने पनि मलाई के चाहिएको छ भन्ने तपाईँलाई ठ्याक्कै थाहा हुन्थ्यो।'”
सरोगेटको काम गर्दा पनि सेराफिनाका प्रेमीहरू थिए र उनीहरूले आफ्नो काम स्वीकार गरेको उनी बताउँछिन्।
तर उनी केही व्यक्ति चिन्छिन् जसले आफ्ना प्रेमी वा प्रेमिकाका कारण वा विवाह गर्नुपर्ने भएकाले सरोगेटको काम छोडे।
आफ्ना ग्राहकसँग अन्तरङ्ग भइसकेपछि उनीहरूसँग छुटिन आवश्यक भए पनि कठिन हुने उनले बताइन्।
“म भन्छु – यो बिदा मनाउन गए जस्तो हो। एउटा छोटो समयका लागि सम्बन्धमा रहने अवसर हामीसँग रहन्छ तर हामी त्यसलाई राखिरहन चाहन्छौँ वा त्याग्छौँ?”
“अनि त्यो सम्बन्ध टुट्नु एउटा सुखद कुरा हो। यो राम्रो कारणका लागि हो। म कुनै बेला रुन सक्छु तर म खुसी पनि हुन्छु।”
“जब म कोही सम्बन्धमा परेका वा उनीहरूको बच्चा जन्मिएको वा विवाह भएको सुन्छु, म जे गर्छु त्यसका लागि म कति खुसी, उत्साहित र धन्य हुन्छु भन्ने अकल्पनीय छ।”
रोनित अलोनी साँझ अबेरसम्म काम गरिरहेकी हुन्छन्। उनी युरोपदेखि दक्षिण अमेरिकासम्मका यौनसम्बन्धी विशेषज्ञको समूहलाई अनलाइन कक्षा दिन्छिन्।
यौनसम्बन्धी समस्याको उपचारमा मनोवैज्ञानिक थेरपीभन्दा सरोगेसी बढी प्रभावकारी भन्ने अध्ययन गरिएका सुझाव र घटनाहरू उनी दोहोर्याउँछिन्।
आधुनिक उपचारले धेरै घाइते सैनिकहरूलाई पनि बचाउन मद्दत गर्ने भएकाले सरोगेट उपचारविधि व्यापक रूपमा प्रयोगमा आउन सक्ने उनी ठान्छिन्।
“मानिसको आत्मसम्मान पुनर्स्थापना नगरेसम्म तपाईँ उसलाई पुनर्स्थापित गर्न सक्नुहुन्न,” उनले भनिन्।
“तपाईँ जीवनको यो पक्षलाई उपेक्षा गर्न सक्नुहुन्न। यो एकदमै महत्त्वपूर्ण छ, शक्तिशाली छ। यो हाम्रो व्यक्तित्वको केन्द्रमा छ। र, तपाईँ केवल यसबारे कुरा मात्रै गर्न सक्नुहुन्न। यौनिकता गतिशील विषय हो, यो हामी र अन्य मानिसबीच हुनुपर्छ।”
अलोनीको दृष्टिकोणमा, यौनबारे आधुनिक समाजले अस्वस्थ प्रवृत्ति विकास गरेको छ।
“हामीलाई यौनिकताबारे कसरी ठट्टा गर्ने भन्ने थाहा छ। मानिसलाई कसरी अपमानित गर्ने भन्ने थाहा छ, यौनिकताबारे अतिवादी हुने वा परम्परागत हुनेबारे थाहा छ,” उनी भन्छिन्।
“यो कहिल्यै पनि सन्तुलित छैन। यो जसरी हाम्रो जीवनसँग गाँसिनुपर्थ्यो त्यसरी कहिल्यै पनि भएको छैन र यौनिकता भनेको जीवन हो। यसैबाट जीवन बन्छ। यो प्रकृति हो!”
बीबीसीबाट