काठमाडौं- दरबाद हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ । १९ जेठ २०५८ मा रातको समयमा नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहसहित उनको वंशनास हुने गरी हत्याकाण्ड भएको थियो ।
हत्याकाण्डमा राजा, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन शाहको हत्या भएको थियो । उनीहरुसँगै दरबारका सदस्य तथा आफन्तहरुमध्ये दर्जनबढीले ज्यान गुमाएका थिए ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारजस्तो संवेदनशील ठाउँमा देशको राजासहित राजपरिवारका सदस्यको हत्याको कारण अहिलेसम्म रहस्यमै छ ।
दरबार हत्याकाण्डले नै नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको विजारोपण भएको एकाथरीको भनाइ छ ।
ज्ञानेन्द्र शाह राजा भएको ७ वर्षमै (१५ जेठ २०६५) मुलुकमा राजतन्त्रको समाप्ती भयो । उनी नेपालको शाहवंशीय अन्तिम राजा हुन् ।
ज्ञानेन्द्र हाल निर्मल निवासमा छन् भने नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ ।