काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।
आयोगले अध्यक्ष महन्थ ठाकुरसँग पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको एक नेताले सुत्रन्युजलाई बताए ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुई पक्षले एक अर्कालाई निष्कासन गर्दै दिएको जानकारीको पत्र बदर गरिदिएको छ ।
उनीहरुले हिजो मंगलवार एकले अर्कालाई पार्टीबाट निष्कासन गरेको भन्दै त्यसको जानकारी निर्वाचन आयोगलाई गराएका थिए ।
उनीहरु दुवैजनाले बुझाएको पत्र राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची अनुसार नभएकोले आयोगले रद्द गरेको हो ।
पार्टीका एउटा अध्यक्ष उपेन्द्र यादवले हिजो मंगलबार पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र यादव, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेका थिए ।
उनले निष्कासन गरेको केही समयपछि फेरि पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवमाथि कारबाही गरेका थिए ।