जसपाका दुवै पक्षको पत्र निर्वाचन आयोगद्वारा खारेज-Sutra News

जसपाका दुवै पक्षको पत्र निर्वाचन आयोगद्वारा खारेज

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी,नेपाल (जसपा) का महन्थ ठाकुर र उपेन्द्र यादव दुवै अध्यक्षको पत्र खारेज गरेको छ ।



मंगलबार अध्यक्षद्वय यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुुवै पक्षको पत्र खारेज गर्ने निर्णय गरेको जानकारी दिए । पत्रमा दलहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७४ अनुसार प्रकृया नपुर्याएको भन्दै निवेदन खारेज गरिएको उनको भनाइ छ ।

प्रवक्ता श्रेष्ठका अनुसार यादव पक्षलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिम निवेदन लिएर आउन भनिएको छ । यस्तै ठाकुर पक्षलाई केन्द्रीय सदस्यहरुको पनि हस्ताक्षर ल्याउन भनिएको छ ।

यादवले आयोगमा केन्द्रीय कार्यकारिणी परिषदका बहुमत सदस्यको हस्ताक्षर पनि बुझाएका थिए भने ठाकुरले कारबाही गरिएको मात्र जानकारी दिएका थिए ।

यादव पक्षले ठाकुर सहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्र शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो भने ठाकुर समूहले पनि यादवलाई पार्टीबाट निष्काशन गरेका थियो । दुवै पक्षले मंगलबार आयोगमा कारबाहीको ब्यहोरा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट