काठमाडौं- नेकपा एमालेबाट निष्काशित नेता माधव नेपाल पक्षले आफू पक्षीय नेताहरुको बैठक बोलाएपछि संस्थापन पक्षले त्यसको विरोध गरेको छ ।
बिहीबार बिहानै विज्ञप्ति निकालेर एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओली बाहेकले बोलाएको बैठक वैधानिक नरहेको उल्लेख गरेका हुन् ।
‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।’
नेपालले पछिल्लो पटक विकसित राजनीतिक विषयको समीक्षा गर्न बिहीबार बिहान ११ बजेका लागि आफू पक्षीय स्थायी कमिटिको भर्चुअल बैठकसमेत बोलाएका छन् ।
यसैबिच अध्यक्ष समेत रहेका ओलीले दिउँसो ४ बजेका लागि स्थायी कमिटि बैठक बोलाएका छन् ।